Total views

Wednesday, May 20, 2020

गजल 
ज्युँदै मान्छे मार्छन् यहाँ

ज्युँदै मान्छे मार्छन् यहाँ
मानवता पर सार्छन् यहाँ 

मेरो देश भन्न लाज भो 
कुराले नै टार्छन् यहाँ 

कानुन छुन्न धनीलाई 
गरिव सधै हार्छन यहाँ 

जे गरे नि छुट्छन् टाठा
सोझालाई त जार्छन यहाँ

लिपु रोइ रहेछ आज 
तर को  आँशु झार्छन् यहाँ  ?
 
              मन बहादुर खत्री
              इस्मा–२ हस्तिचौर, गुल्मी

Tuesday, May 19, 2020

गजल (पल्पल्मा मरें म तिम्रो लागि मर्दिन अब त)


पल्पल्मा मरें म तिम्रो लागि मर्दिन अब त 
रहेछ झुठो विश्वास तिम्रो पर्दिन अब त 


वेचैन पार्दै अरुको मन म हाँस्न सक्दिन
रमाउनु तिमी कसैको खुशी हर्दिन अब

टिपेर फूल गुराँस लाली पहाडी पाखाको 
भराउने आश थ्यो भकारी मनको भर्दिन अब त 

ठानेर आफ्नै जीवन साथी सर्वथोक सुम्पिएँ  
गरेछु भुल नजिक तिम्रो सर्दिन अब त 

लेखेको हुन्छ भावीले यहाँ देखेको हुँदैन
विन्ती छ प्रिय नगर्नु फोन गर्दिन अब त 


                        मन बहादुर खत्री
                      इस्मा–२ हस्तिचौर, गुल्मी 

Monday, May 18, 2020

लकडाउनको समयमा घर परिवार भन्दा टाढा देश विदेशमा रहनु हुने आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा समर्पित

गीत / Song


गाउँ नै प्यारो भो आमा गाउँ नै प्यारो  भो 
विपतिमा पर्दा जन्म ठाउँ नै प्यारो भो 
आमा गाउँ नै प्यारो  भो

हरियाली बन पाखा बन्धु आँखामा छन
ठुला शहर महल नजिक मन टाढा भा’छन
ओल्लो घरको पल्लो घर आउनु जानु छैन
मान्छे मान्छे बिचमा यहाँ दुःख साट्नु छैन
गाउँ नै प्यारो भो आमा...........

रहर होइन बाध्यता थ्यो शहर आउनुको नि
कारण थियो साहुको रिण विदेश धाउनुको नि
देशमै केही गरुँ भन्थे रिण रह्यो भारी 
जोखिम बढ्यो विश्वमा नै लाग्यो महामारी
गाउँ नै प्यारो भो आमा .............

आउँछु बाँचे गाउँघर फर्की बाजो जमिन खन्छु
आफ्नै देशमा मज्दुर किसान जे–जे बने बन्छु
इच्छा जाग्यो बाबाआमा भेट्ने संगी साथी
मिलीजुली काम गरी देश उठाउँला माथी
गाउँ नै प्यारो भो आमा .............

                              -    मन बहादुर खत्री
                                  इस्मा–२ हस्तिचौर, गुल्मी

Thursday, May 14, 2020

Gajal


                 गजल

मन बहादुर खत्री
इस्मा२ हस्तिचौर, गुल्मी



आँखामा तिम्रो तस्विर भरी जीन्दगी थाम्दै छु 
सम्झेर एक स्वर्गको परी जीन्दगी थाम्दै छु 

फुल त धेरै फुल्दछन् बहु रङ्गका बगैंचा
खुसुक्क वस्ती तिम्रोमा सरी जीन्दगी थाम्दै छु 

धेरै छन् बाटा गोरेटा यहाँ मार्ग त तिमी हौ
छल्दी र निस्ती खोला ती तरी जीन्दगी थाम्दै छु

आकृति तिम्रो लाग्दछ प्यारो ज्यान यो भन्दा नि
अस्तित्व मेरो सुम्पिने गरी जीन्दगी थाम्दै छु

नदिनु बास यात्रीले माग्ला बुनेर जाल त्यो
मुटुमा तिम्रो यो मन चरी जीन्दगी थाम्दै छु